देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीहरुले सांसदहरुलाई प्रशिक्षणमा जोड दिनुपर्छ : सभामुख सापकोटा

देशान्तर

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताए । शुक्रबार काठमाण्डौमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् ।

सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए। त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने बताए। ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननिय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो’, उनले भने, ‘त्यसो नहुँदा अरुको भर पर्नुपर्यो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुपर्यो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन उनीहरुले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्छन । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ ।’

उनले अझै पनि सामान्य प्रशिक्षणहरु नभएको र संघीय संसदबाट पनि सांसदहरुलाई प्रशिक्षणको वातावरण बनाउन नसकेको गुनासो पनि गरे। अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए । पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको बताए। यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इच्छा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताए।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताए। सबै कुराको वातावरण बने पनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको उनको भनाई छ । त्यसैले अबको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानूनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरुलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने उनले बताए ।