काठमाण्डौ – सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए। ओलीले दाहालका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गरेका छन्। आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक-दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
नेताहरुकाअनुसार यससबीचमा संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने दाहाल-नेपाल समूहको तयारी छ । अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।





प्रतिक्रिया