काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले को अध्यक्ष र प्रधानमन्त्री भन्दा पनि गणतन्त्रको रक्षा र पार्टी एकता बचाउने कुरा प्रमुख भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले आफू गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनका लागि सबैले सकेको त्याग गर्नुपर्ने बताउँदै आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।
आज (आइतबार) पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् ।
यसअघि १३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै प्रचण्ड पनि तयार हुनुहुन्छ भनेर प्रश्न गरेका थिए ।
ओलीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका हुन् । उनले पार्टी एकताको विकल्प नरहेको समेत बताएका छन् । उनले को प्रधानमन्त्री हुने र को अध्यक्ष हुने भन्ने कुरा प्रमुख नभएको भन्दै गणतन्त्र र पार्टी एकताको रक्षा प्रमुख विषय भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टी एकता र गणतन्त्रको रक्षाका लागि आफू तयार रहेको भन्दै अरू सबै त्यागका लागि तयार हुनुपर्ने बताएका छन् । ‘पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जोकसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका लागि तयार छु भनेर भन्नु भयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘हामी जोकोही पनि त्याग गर्न तयार हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।’
बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिएका छन् । एकताको विकल्प एकता नै हो भनेर दाहालले भनेको पनि गजुरेलले जानकारी दिएका छन् ।





प्रतिक्रिया