देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ताको सर्वसत्तावादी चरित्रले मानव अधिकारमाथि अनेकौ प्रश्न खडा हुन थाले : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जनाका लागि प्रतिपादित मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा निहित अधिकारहरुको संरक्षण र प्रवद्र्धन अत्यन्त आवश्यक भएको बताए । विहीबार ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना र सहकार्यका लागि आह्वान गर्दै नेता पौडेलले सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण मानव अधिकारमाथि अनेकौ प्रश्न खडा हुन थालेको बताए ।

२०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्थ्यो । आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको छ । एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त अर्कोतिर नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन्, पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुशासन र अव्यवस्थाका कारण नागरिकहरुमा आक्रोश बढ्न थालेको भन्दै इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका उनको भनाइ छ । जसका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको पौडेलले बताए ।

पौडेले भने, यो परिस्थितिमा नेपाली नागरिकको अधिकारको रक्षाका लागि वर्तमान सर्वसत्तावादी चरित्र विरुद्ध शान्तिपूर्ण तवरले दृढताका साथ उभिनु र प्रतिगमनको कुनै पनि संभावनालाई निस्तेज पार्ने दोहोरो दायित्व सबै लोकतन्त्र र अधिकारवादीहरुमा आएको छ । यो अवस्थामा विगततर्फ फर्कने होइन, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ र यसका लागि सबै लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न म आह्वान गर्दछु ।

नेपाली नागरिकको मानव अधिकार रक्षाका लागि आफू र काँग्रेस हिजो पनि प्रतिवद्ध रहेको भन्दै आज पनि छ र आफ्नो सारा उर्जा नागरिकको मानव अधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा सदैव खपत हुने पौडेलले विश्वास दिलाए ।