देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा उनीहरुबीच सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन सरकारलाई दबाब दिने समझदारी भएको छ ।

दुवै दलका शीर्ष नेताहरुबीच सरकारका गलत क्रियाकलाप विरुद्ध संसद्मा एक ठाउँमा उभिने समझदारी पनि भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भेटमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, कोभिड–१९ को विविध पक्ष र त्यसका कारण सिर्जित आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।