
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रतिनिधि सभा विघटनपछि आउँदो निर्वाचनका विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल समेत सहभागि थिए । सो क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताउँदै सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएकाले कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।
‘प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस्- पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो,’ एक आयुक्तले भने, ‘सुरक्षाको काम केही आवश्यक भए उहाँ गृहमन्त्रीलाई भन्नुहोस् भनेर भन्नुभयो ।’
निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो । जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाएका थिए ।





प्रतिक्रिया