नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको राजनीतिक परिस्थीतिका विषयमा मंगलबारदेखि केन्द्रीय समितिको बैठकमा छलफल हुँदै आएको छ ।
तर, पार्टीमा संस्थापन र इतरपक्षका बीचमा वर्तमान राजनीतिक गतिरोधका विषयमा भने एक मत हुन सकेको छैन । संस्थापन पक्षले पर्ख र हेरको रणनीतिमा रहने संकेत गरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सशक्त प्रतिरोध गर्नुपर्ने अडान राख्दै आएको छ । जसका कारण कांग्रेसले स्पष्ट रणनीति तय गर्न सकेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताएका छन् ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले संसद विघटनको कदमको प्रतिरोध गर्ने बताएका हुन् ।
उनले बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिएका थिए । बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।
बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए । बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले आन्दोलनको घोषणा गर्ने भएको छ ।
बैठकले नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय समिति सदस्य कृष्णप्रसाद सिटौला संगै सबै कोरोना संक्रमित पार्टी सदस्य तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै, कांग्रेस केन्द्रीय समितिको आज दिउँसो १ बजे बस्ने बैठकले सरकारको असंवैधानिक कदमका विरुद्ध अन्य आन्दोलनको कार्यक्रम घोषणा हुने नेपाली कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया