
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेताले बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।
पुस ७ गतेदेखि बसेको केन्द्रीय समिति बैठक सकेर बिहीबार प्रचण्ड र नेपाल, झलनाथ खनाल सँगै उक्त समूहका नेता बल्खु पुगेका हुन् । नेकपा अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको मूल धार र मूल शक्ति आफूहरु भएको दावी गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी नेकपाको मूल धार हामी हौं, मूल शक्ति हामी हौं’, नेपालले भने, ‘अरु कसैले दावा नगर्दा हुन्छ ।’ उनले चोइटिएर जानेलाई विगतका कमीक मजोरी स्वीकारेर एकतावद्ध हुन आग्रह समेत गरेका छन् ।
अहिले सिंगो राष्ट्र नै अनिश्चयको भूमरीमा परेको, ठूलो त्याग तपस्या र बलिदानबाट ल्याएको संविधान, जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कुल्चने काम भएको र प्रतिनिधिसभालाई विघटन गर्ने कदम प्रधानमन्त्री ओलीबाट चालिएको बताए। उनले त्यो कदम आफूहरु अस्वीकार गर्ने बताए । ‘हामी त्यसलाई स्वीकार गर्न पक्षमा छैनौँ, प्रतिनिधिसभालाई तानाशाही तरिकाबाट विघटन गर्न पाइदैन, यो राजाको कदमजस्तै अर्को प्रतिगामी कदम हो’, उनले भने ।
बल्खु पुगेर प्रचण्ड र नेता नेपालले पार्टी कार्यालय बनाउने घोषणा समेत गरेका छन् । अध्यक्ष प्रचण्ड, नेपाल खनालसँगै नेता अमृतकुमार बोहोरा समेत बल्खु पुगेका हुन् । नेता भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उक्त ठाउँमा नेपाल कम्युनिस्ट पार्टीको एउटा सुविधा सम्पन्न भवन बनाउने बताएका छन् । प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकले नेता नेपाललाई अध्यक्ष चुनेको सन्दर्भमा बल्खु पुगेको बताए ।





प्रतिक्रिया