देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डले ओलीलाई भने, ‘प्रदेशसभा पनि विघटन गरे इतिहासमा कलंकित हुनु हुनेछ’

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल खेमा सडक संघर्षमा उत्रिएको छ । उक्त समूहका नेतृत्वकर्ता नेतादेखि कार्यकर्तासम्मले ‘हामी यहाँ छौं’ लेखिएको कागज छातीमा टाँसेर राजधानीमा शुक्रबार प्रदर्शन गरे ।

विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय कमिटी सदस्य र ‘विघटित’ सांसदहरू सहभागी थिए । उक्त समूहका अध्यक्षद्वय दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सडकमा पलेटी कसेर विरोध कार्यक्रममा सहभागी भए ।

सर्वोच्च अदालत परिसरकै छेउ माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगको केन्द्रीय कार्यालयसम्म पुगेको थियो । सर्वोच्चमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध मुद्दा विचाराधीन छ भने निर्वाचन आयोगमा नेकपाको वैधानिकताको विवाद छ ।

सडक प्रदर्शनपछि नेकपाको दाहाल–नेपाल पक्षले आफूसँग बहुमत रहेको भन्दै ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएको थियो । उक्त कार्यक्रममा दाहाल र नेपाल पनि सहभागी थिए । सोही समूहले शुक्रबारै कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी नेकपाको वैधानिक पक्ष आफू नै रहेको दाबी गरेको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रूपमा संविधानकै पक्षमा फैसला गर्ने बताए । ‘केपी ओलीले आफू जस्तो छु, अरू पनि त्यस्तै छु सोच्नुभएको होला । सबै जालीझेली हुन्छन्, सबै सेटिङमा चल्छन् भन्ने सोच्नु भएको छ भने ओलीजी तपाईं भ्रममा हुनुहुन्छ,’ दाहालले पत्रकारसँग भने, ‘प्रतिनिधिसभा विघटन गर्नुभयो । अब प्रदेशसभा पनि विघटन गर्नुभयो भने तपाईं इतिहासमा कलंकित हुनु हुनेछ ।’

दाहालले पार्टी एकतापछि जनताको बहुदलीय जनवादको राजनीतिक प्रतिवेदनमा नेकपा एकमत र दृढ रहेको बताए । तर, ओली कहिल्यै पनि राजनीतिक मान्यताप्रति इमान्दार नबनेको उनको आरोप थियो । ‘ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा जहिले पनि जबज भनेर एउटा अभियान चलाइराख्नु भयो र राजनीतिक कार्यदिशामा भएको निर्णय मान्नु भएन’, दाहालले भने, ‘पार्टी एकता भएपछि जबज र मदन भण्डारी तथा माओवादी र प्रचण्डको भूमिकाबारे गरिएको उच्च मूल्यांकनको सम्मान गर्नु भएन ।’

उक्त समूहबाट अध्यक्ष बनाइएका नेपालले ४९ वर्षदेखि केपी ओलीसँग आफ्नो सहकार्य भएको बताए । अहंकार र दम्भले ओलीलाई गोर्भाचोभको रूपमा हेरिएको उनले आरोप लगाए । ‘केपी ओलीले अहिले कम्युनिस्ट आन्दोलन कमजोर पार्नुभएको छ । कुनै दिन धराशयी बनाउनु हुनेछ’, उनले भने, ‘ओली संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुनुहुन्छ ।’

वरिष्ठ नेता खनालले झापा काण्डदेखि नै ओलीमा अनधिकृत काम गर्ने बानी रहेको आरोप लगाए । ‘उहाँले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गर्नुभयो’, खनालले भने, ‘वीरगञ्जमा हाम्रै पार्टीका कार्यकर्ता मारिए । भारतीय गुप्तचर संस्थाका प्रमुखको रातारात भमणका विषयमा कुरा उठायौं । कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँदा छलफल गर्न हामीले बैठकको माग गर्‍यौँ तर सुनुवाइ भएन । ओलीमा निरंकुशता देखियो ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट