देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बस्नेतविरुद्ध स्टाटस लेखेपछि पक्राउ परेका पूर्वअसई चन्दलाई छाड्न काँग्रेसको माग

देशान्तर

काठमाडौं – नेकपा केपी ओली समूहका नेता महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ । बस्नेतविरुद्ध स्टाटस लेखेकै आधारमा काँग्रेस निकट पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दलाई नेपालगञ्जबाट गिरफ्तार गरि काठमाडौँ ल्याइएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको बताए ।

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कानुनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको काँग्रेसको ठहर छ । चन्दको पक्राउ निन्दा गर्दै शर्माले रिहाइको माग गरेका छन्। पूर्वप्रहरी समेत रहेका चन्द स्थानीय एक निजि क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका छन् । सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय छ । नेपाली काँग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिँदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।