देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् विघटनविरुद्ध कांग्रेसले आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

देशान्तर

काठमाडौं – संसद् विघटनविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जानेछन् । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदै छन् । यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् ।

क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन् । यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ । काठमाडौंमा हुने कार्यक्रम १२ बजेदेखि २ बजेसम्म आआफ्नो समयअनुकूल हुने गरी सञ्चालन गरिने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।