देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको कदमले संविधानमाथि प्रहार : नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन्।

असंवैधानिक कदम विरुद्धको विरोधका लागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेको बताए। झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा भंग गरेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको बताए।

संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए। असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै पनि तरिकाले हुन नसक्ने पनि उनले बताए। दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छरु भन्दै प्रश्नसमेत गरे।