देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यक्ष बन्न नपाएपछि ईश्वर पाेखरेलका सम्धीले दिए राजीनामा

देशान्तर

अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् ।

कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘राजीनामा पत्र आएको छ,’ उनले भने, ‘अध्यक्ष बन्न नपाएपछि राजीनामा आएको देखिन्छ ।’

अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उहाँ (कोइराला) उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्यक्ष चुनिएको हो,’ स्रोतले भन्यो, ‘अध्यक्ष चयनपछिको पहिलो बैठक आइतबारलाई डााकिएको छ ।’ बैंक स्रोत पनि अध्यक्ष बन्न नपाएकै कारण राजीनामा आएको दाबी गर्छ ।

राजीनामाका विषयमा कोइरालासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गत भदौ पहिलो साता पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि बैंकको अध्यक्ष पद खाली भएको हो । त्यसयताका सबै बैठकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शर्माले अध्यक्षता गर्दै आएका छन् । सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकका अध्यक्षका कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।