काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ्गले आफूले अहिलेको संविधान अनुसार प्रधानमन्त्रीले संसद भङ्ग गर्न नसक्ने धारणा राखेको स्वीकारेका छन् ।
पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले तर, अहिलेको राजनीतिक सन्दर्भ फरक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गरेका छन् । नेम्वाङले बर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको समेत बताएका छन् ।
आज (शनिबार) नेकपा ओली समूहको प्रदेश–१ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधान अनुसार नै काम गरिरहेको बताएका हुन् ।
संसद विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधान अनुसार नै कार्यरत रहेको दाबी गरे । संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताए ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी नहुदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उनको भनाई छ । नेम्वाङले सरकारले घोषणा गरेको वैशाख १७ र वैशाख २७ गते नै निर्वाचन हुने बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै उनले आलोचना गरे ।
देश निर्वाचनमा गइसकेकोले प्रतिपक्षी दलले निर्वाचन केन्द्रीत भएर कार्यक्रम गरिरहेकोले आफुहरुले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने आशा व्यक्त गरे ।
देशको संविधान, कानुन तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफूहरुले पाउनुको विकल्प नरहेको उनको भनाई छ । स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए ।
संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उनको तर्क छ । प्रधानमन्त्री ओलीले आफूलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताए ।





प्रतिक्रिया