देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपालको आक्रोश: ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।

जनसभामा अध्यक्ष नेपालले लामो समयदेखि ओलीले दुःख दिएको बताए । ‘केपी शर्मा ओलीलाई समयमै ठीक ठाउँमा ल्याउन सकिएन । त्यसैले अहिले संविधानमाथि नै प्रहार भयो । अब आत्मसमीक्षासहित अघि बढ्नुपर्ने छ’, नेपालले भने । तत्कालीन एमालेको नवौं महाधिवेशनमा जालझेल गरेर ओलीले जित हासिल गरेको आरोपसमेत उनले लगाए । पार्टी एकतापछि नयाँ तरिकाले अगाडि बढ्ने अपेक्षा गरे पनि पार्टी र सरकार सञ्चालनमा ओलीको निरंकुश शैलीलाई समयमै सच्याउन नसक्नु गम्भीर कमजोरी भएको नेपालको भनाइ थियो । ‘शिवजीले वरदान दिएर भष्मासुर बनाए तर उसले शिवलाई नै समाप्त पार्न खोजेपछि शिवजीले भष्मासुरलाई समाप्त पार्नुपर्‍यो’, नेपालले पुराणको दृष्टान्त अघि सार्दै भने, ‘पार्टीले पनि केपी ओलीलाई अध्यक्ष बनायो, प्रधानमन्त्री बनायो तर उनी भष्मासुर बने, त्यसैले अब पार्टीले ओलीको भष्मासुर प्रवृत्तिलाई समाप्त पार्नेछ ।’

नेपालले ओली हिटलरको नेपाली संस्करणका रुपमा देखा परेको आरोप लगाए । ‘केपी ओली हिटलरको बाटोमा हिँड्ने हिटलरी नाजीवादको नेपाली संस्करण हुन् । नेपाली जनता त्यस्तो प्रवृत्तिसामु थरर कामेर दास बन्दैनन्’, नेपालले भने, ‘घरझगडा हुँदा घरकै मान्छे सिध्याउने, घरमा आगो लगाउनेजस्तै पार्टी, संसद्, संविधान सिध्याउने केपी ओली नरसंहारकारी हुन् ।’ ओली कम्युनिस्ट पार्टीको सदस्य हुन समेत लायक नरहेकाले कारबाही गरिएको बताउँदै नेपालले अपराध स्वीकार गरेर प्रतिनिधिसभा पुनस्र्थापना स्वीकार नगरेसम्म ओलीसँग पार्टी नझुक्ने प्रस्ट्याए । ‘प्रतिनिधिसभा विघटन गलत हो, पुनस्र्थापनाका लागि म पनि जुलुसमा सामेल हुन्छु भनेर भनिहाल्ने हो कि, मान्छेले गल्ती गर्छ, अपराध गर्छ, समयमै सच्चिन्छु भन्छ भने केही समय जेलमा राखेर फेरि निकालौंला केही फरक पर्दैन, होइन भने सीधै माफी दिउँला, केही फरक पर्दैन । तर केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्नेछैन । कसैले पनि सँगसँगै जान्छ भन्ने भ्रम नपाले हुन्छ’, नेपालले भने ।

असंवैधानिक तवरबाट ओलीले संसद् विघटन गरेर संविधानमाथि कु गरेको आरोप नेपालको थियो । ‘ओलीको संसद् विघटनको कदम असंवैधानिक मात्र होइन संविधानमाथिकै कु हो,’ अध्यक्ष नेपालले भने । उनले केपी ओलीसँग साइबर झुन्ड र अरिंगालमात्रै भएको भन्दै उनीहरूले विशाल फौजको सामना गर्न नसक्ने दाबी गरे । नेपालले कांग्रेसलाई लक्षित गर्दै संयुक्त आन्दोलन सुरु गर्दा धोका पो पाइन्छ कि भन्ने आशंका नपाल्न आग्रह गरे । ‘अहिले कतिपय राजनीतिक पार्टीलाई शंका लागेको छ । कतै नाटक त गरिरहेका छैनन्, कम्युनिस्ट मिलेर कतै धोका त दिने होइनन् भन्ने शंका छ । हामी मूल्यको, विचारको राजनीति गर्छौं त्यसैले शंका नगर्दा हुन्छ’, उनले भने । नागरिक दैनिकमा समाचार छ ।