
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् ।
केटू हिमाल आरोहण दललाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
उनले भने, ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर न आउने थिए होला ।’
प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो ।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे ।
प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिए । ‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ’, उनले भने ।
जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरी फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उनले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरुको देश भएको पुष्टि गरेको बताए ।
सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गरे । ‘निकै मेहनत र परिश्रमका साथ केटूजस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईंहरुको यो साँच्चिकै प्रशंसायोग्य काम हो’, उनले भने ।





प्रतिक्रिया