देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

देशान्तर

शहीद दिवसको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको र सबैलाई समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले समस्त शहीदप्रति श्रद्धान्जली अर्पण गर्दै उनीहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्धि पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धान्जली हुने विश्वास लिएकी छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा शहीदहरुको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लागेको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदहरुका सपनालाई मूर्तरुप दिन हामीले वितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ । भैतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको ब्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा हामीले थालनी गरेका विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने छन् ।’

वर्तमान अस्थिर राजनीतिक अवस्थाप्रति लक्षित गर्दै प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ, ‘सुस्थीर राजनीतिमा ब्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षा बिरुद्ध खडा गरिएका चुनौतिहरुलाई हामी सबैले एकजुट भएर पारजित गर्नु पर्दछ ।’