देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीमा प्रशंसाको भोक जागेको छ, आलोचना सुन्दा आक्रोशित हुन्छन् : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं । प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रशंसाको भोक जागेको बताएका छन् ।

आज (शनिबार) मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमा प्रशंसाको भोक जागेका कारण कसैले आलोचना गरे आक्रोशित हुने गरेको बताए । अध्यक्ष नेपालले आफूहरुले ओलीको नभई उनको प्रतिगामी कदम र प्रवृत्तिको आलोचना मात्र गरेको बताए ।

प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरु त्यसको रक्षाका लागि सडकमा आउनु परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘हामी संविधानको पक्षमा छौं । ओलीको कदमविरुद्ध अरु पार्टीसँग सहकार्य जरुरी छ र प्रयास जारी छ ।’

अध्यक्ष नेपालले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जोड दिँदै थपे, ‘अधिनायकवादविरुद्ध हामी हातेमालो गर्दै आन्दोलनमा जान चाहन्छौं । तपाईहरु मिडियाको भूमिका पनि महत्वपूर्ण छ ।’

आफूहरु सबै किसिमका निरंकुशताको विरुद्ध रहेको बताउँदै नेपालले आत्मप्रशंसामा रमाउने बानीले ओलीलाई बिगार्दै लगेको पनि बताएका छन् । पार्टीमा हाल कायम ४३३ मध्ये २८८ जना केन्द्रीय आफूहरुको पक्षमा रहेको भन्दै आधिकारिक पार्टी आफूहरु रहेको नेपालले बताए । उनले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने भन्दै संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नै नरहेको बताएका छन् ।