प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जानु हुने भएको छ । उहाँ विहान ११ बजे कान्तिपथमा रहेको आयोगको कार्यालयमा जाने बताइएको छ ।
नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली यसअघि जानु भएको थिएन ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।
प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नुहुने छ । साथै उहाँले वैशाख १७ र २७ गतेका लागि आफैले घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बुझिएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो ।
संसद विघटन लगत्तै नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गर्नुभएको छ ।





प्रतिक्रिया