काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् । प्रहरी हिरासतबाट रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले सो कुरा बताएकी हुन् ।
संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीको जिकिर छ । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’
प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् । उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’
झाँक्रीलाई मध्यान्न प्रहरीले राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।
प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।





प्रतिक्रिया