काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपाकी नेतृ रामकुमारी झाँक्रीको भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कर्म आपतिजनक र घातक रहेको बताएका छन् । उनले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताए ।
झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेर मिश्रले प्रश्न समेत गरेका छन् ।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ । रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन् । उनलाई कानुन लाग्छ कि लाग्दैन ?’
प्रहरीले पुष्पकमल दाहाल ‘प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई थमाएको पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।





प्रतिक्रिया