बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे ।
साक्षात्कारमा बोल्दै गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए । उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुनःस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।
प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दावी उनले गरे । पूर्वमन्त्री समेत रहेका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गरे । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्ट्याएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले फाँसीवादी र तानाशाही चिन्तन देखाए ।’ प्रतिनिधिसभा विघटनसँगै नेपाललाई क्रिडास्थल बनाउन विदेशी शक्ति केन्द्रहरु आर्कषित भएको उनको भनाई थियो । उनले बैशाखमा चुनाव हुन नसक्ने दावी गरे । उनले भने, ‘प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव हुँदैन ।’





प्रतिक्रिया