देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकाएक प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन भयो : टोपबहादुर रायमाझी

देशान्तर

रुपन्देही । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेट अनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमति विपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राखे ।

उनले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पुर्याएको बताए । “मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु तर मान्नुभएन”, उनले भने, “कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।”

दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह गरे । “उल्टो दिशामा हिँडनेहरुसँग कोही जानेवाला छैनन्, बरु सो समूहका धेरै नेताहरु मूल पार्टीमा आउँदैछन् ।” पछिल्लो समय नेपाली कांग्रेससहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गरे ।

भेलामा प्रेस सङ्गठनका इञ्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा सङ्गठन क्रियाशील रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

सो सङ्गठनका केन्द्रीय संयोजक गणेश बस्नेतले अराजकताविरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्दै संविधानसभाले निर्माण गरेको संविधान विरुद्ध लाग्नेलाई प्रेस सङ्गठनले समर्थन गर्न नसक्ने स्पष्ट गरे । भेलामा सङ्गठनका पूर्वाध्यक्ष राजेन्द्र अर्याल, सङ्गठनका नेताहरु प्रमोद दाहाल, गणेश पाण्डे, बालकृष्ण बस्नेत, पार्वती पाण्डे, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव उजीर मगर, नेकपाको प्रदेशका प्रचार विभाग प्रमुख झपेन्द्र जिसी, सङ्गठनका प्रदेश सहसंयोजक प्रदीप आचार्य लगायतले उक्त सङ्गठनलाई एकताबद्ध र गतिशील बनाउनुपर्नेमा जोड दिए । भेलाले प्रदेश कमिटी विस्तार गर्ने र विभिन्न जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।