देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी निर्वाचनमा आचारसंहिता कडाइ गर्ने आयोगको तयारी

देशान्तर

काठमाडौं – निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारलाई कडाइ गर्ने गरी आचारसंहिता ल्याउने तयारी गरेको छ । निर्वाचन आचारसंहिता बारे आयोगले आज गरेको सर्वदलीय छलफलमा आगामी निर्वाचनमा खर्च व्यवस्थापन र प्रचारप्रसारलाई कडाई गर्ने गरी आचारसंहिता ल्याउने जानकारी दिएको हो ।

खर्च व्यवस्थापन र प्रचारलाई कडाई गर्ने भने पनि आयोगले अघिल्लो निर्वाचनमा चौतर्फी बिरोध भएको हेलिकप्टर चार्टर्ड गर्ने छुट भने दिएको छ । यस्तै, आयोगले आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना र उम्मेद्वारी खारेज गर्ने व्यवस्था गर्ने भएको छ । छलफलमा सहभागि नेकपाको दाहाल-नेपाल समूहका नेता लिलामणी पोखरेलले संसदमा ६४ प्रतिशत जनमत भएको पार्टीको विवाद समाधान नगरी कसरी चुनाव हुन्छ भन्दै आयोगलाई प्रश्न गरेका थिए ।

प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट सर्वदलिय बैठकमा सहभागि नेता आनन्दप्रसाद ढुंगानाले चुनावको मुखमा हातहतियार प्रर्दशन, सरुवा बढुवा लगायत निर्वाचन प्रभावित हुने गतिविधि नियन्त्रणमा कडाई गर्नुपर्ने बताए। छलफलमा सहभागि साना राजनीतिक दलका प्रतिनिधिहरुले भने निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आयोगले आगामी निर्वाचन केन्द्रीत आचारसंहिता मस्यौदालाई अन्तिम रुप दिएर दलहरुसंग छलफल गरेको हो । छलफलमा विभिन्न १४ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।