गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार (१२ फेब्रुअरी) देखि शुरू गरिएको छ ।

सो टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्ने छन् । उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । उक्त टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन् ।
मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घांटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले गैरआवासीय नेपालीहरुको जिज्ञासा वा समस्याको सम्बोधन गर्नुका साथै उचित परामर्श दिनेछन् । त्यस्तै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञले पनि परामर्श दिनेछन् । छारे रोग (एपिलेप्सी) का विशेषज्ञहरू पनि उक्त टेलि–हेल्थ कार्यक्रममा समेटिएका छन् । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू उक्त कार्यक्रममा सहभागी छन् ।
टेलिहेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?
आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्सएपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, इमेल telehealth@nrna.org मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।
टेलिहेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । “यो नितान्त निशुल्क कार्यक्रम हो, जुन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि शुरु गरिएको हो,” एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले भने।
के यो कार्यक्रमले विशेषज्ञ र परामर्शदाताहरुलाई सेवा शुल्क प्रदान गर्दछ?
यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए वापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
टेलिहेल्थ कार्यक्रममार्फत कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ?
विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट फोन (Viber, WhattsApp) वा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सकिनेछ । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ ।
उदाहरणका लागि बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने उनीहरुले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन् ।
त्यस्तै मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सकिनेछ । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरुको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्यांकन गर्नेछन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् । “यो सेवा खास गरी विदेशमा बसोबास गरीरहेका प्रवासी नेपालीहरुका लागि हो, तर नेपालमा बसी रहेका नेपालीहरुले पनि यस बाट फाइदा लिन सक्नु हुन्छ,” डा. सापकोटाले भने।
तर टेलिहेल्थ कार्यक्रमले आपत्कालीन स्वास्थ्य सेवा भने प्रदान गर्दैन ।
टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिने तर आवश्यक औषधी भने उपलब्ध गराउन नसक्ने डा. सापकोटाले बताए । यो कार्यक्रमले सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम नगर्ने उनले जनाए । “तर यदि तपाईलाई गम्भीर र आपत्कालिन समस्या परे तपाईले तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ,” उनले भने ।
बिरामीको जानकारी गोप्य रहने
डा. सापकोटाले यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण हुने बताए । “हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राखिनेछ । डाक्टर र विशेषज्ञ बाहेक ब्यक्तीको स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । तपाईंको स्वास्थ्य संबन्धी जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ,” उनले भने।
स्वास्थ्य समितिले नेपालीहरूलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयर नामक एक संस्थासँग मिलेर काम गर्न लागेको छ । डाँफे केयरले नेपालमा र विदेशमा पनि धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ ।





प्रतिक्रिया