देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति र प्रधानमन्त्रीका कारण लोकतन्त्र संकटमा : पूर्वराष्ट्रपति यादव

देशान्तर

काठमाडौँ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र संकटमा परेको जिकिर गरेका छन् । शुक्रबार नेपाली काँग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बिपी विचार संग्रह पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले लोकतन्त्रमाथि ग्रहण लागिसकेको बताए ।

उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति समेत साक्षी बस्नु गलत रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए । उनले भने, ‘दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रूपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरू आफ्नै टाउको फुटाउनबाहेक केही छैन ।’

डा. यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजे पनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको जिकिर समेत गरे । कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानुनी आधार खुलाउनुपर्ने धारणा राखे ।

उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदमविरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनःस्थापना रहेको जिकिर गरे । संसद पुनःस्थापनाका लागि पुनः एक पटक आन्दोलन गर्ने बेला आइसकेको कोइरालाको भनाइ थियो ।