संखुवासभा । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो झोसेको बताएका छन् ।
संखुवासभाको खाँदबारीमा आज (शनिबार) आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई हिटलर बनेर देशमा आगो लगाउने अधिकार नभएको बताए । अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्रीको गरिको समेत धज्जी उडाएको बताए । ओलीको गफ र उखान टुक्काले मात्रै देश चल्न नसक्ने बताए ।
नेता नेपालले स्थिरताबाट देश बचाउन आफूहरू सडकमा आउनुपरेको बताए । उनले आफूलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि पूरै विश्वास रहेको भनाइ दोहोर्याए । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको नेकपाले त्यसैलाई जोड दिएको पनि उनले बताए ।
नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरष्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे । उनले हुँदाहुँदैको दुई तिहाइ मासेर दुई तिहाइका लागि प्रतिनिधिसभा भंग गरेको भन्नु लज्जाको विषय भएको उल्लेख गरे । सभालाई रामकुमारी झाँक्री, राम कार्की, परशुराम मेघी गुरुङलगायतले सम्बोधन गरेका थिए ।





प्रतिक्रिया