देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले सडकबाट अदालतलाई धम्क्याए : गगन थापा

देशान्तर

नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट सम्मानित अदालतलाई धम्क्याउने र तर्साउने काम गरेको बताएका छन् ।

नेपाली कांग्रेस नवलपरासी हुप्सेकोट गाउँपालिकाले आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता थापाले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको बताए । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिंडेका उदाहरण संसारमा कहींकतै नभएको बताउँदै नेता थापाले प्रश्न गरे, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’

केपी ओली सन्काहा भएको बताउँदै थापाले अगाडि भने, ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।’ प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको बताए ।

त्यसैगरी न्यायाधीशले विवेक पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भनेर जनताले प्रतीक्षा गरिरहेको पनि नेता थापाले बताए । न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त रहेको थापाले बताए । उनले कम्युनिष्टहरु गरिबीमा उम्रिने र हुर्किने गरेकाले उनीहरुबाट विकास र स्थायित्वको काम हुनै नसक्ने बताए ।