देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपालले राखे देउवासँग सहकार्यको प्रस्ताव

देशान्तर

काठमाडौं – नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । बुधबार दिउँसो दाहाल र नेपाल देउवालाई भेट्न देउवा उनकै निवासमा बुढानिलकण्ठ पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको हो ।

दुवै पक्ष आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन् । भेटवार्तामा दाहाल र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए । यस अगाडिको भेटमा दाहाल-नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

‘उहाँहरुसँग प्रतिनिधि सभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल भएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘दाहाल र नेपालले मिलेर जान प्रस्ताव गर्नुभयो, सभापति देउवाले आफ्नो दलभित्र सल्लाह गरेर केहीदिनमा फेरि बैठक बस्ने कुरा गर्नुभएको छ ।’ छलफलका लागि आफ्नो निवासमा आएका प्रचण्ड र नेपाललाई देउवाले ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल र सरसल्लाह गर्छु’ भन्ने जवाफ दिएका थिए ।