काठमाडौं – नेपाली काँग्रेसले अहिलेको परिस्थितिमा नयाँ सरकार निर्माणमा कसैको प्रस्तावलाई साथ नदिने भएको छ। नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका दुई पक्षबाट प्रस्ताव आएपछि सभापति शेरबहादुर देउवाले आज पदाधिकारीको बैठक डाकेका थिए।
देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अहिले नै सत्तामा जाने बारेमा निर्णय नगर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। बैठकपछि महतले भने, यसो गर्छु उसो गर्छु भन्ने स्थिति आएको छैन। जसरी परिस्थिति अघि बढ्छ त्यसरी सामना गर्छ काँग्रेसले।
नेकपा अहिले एकै रहेको र यसको नेता केपी शर्मा ओली नै रहेकोले यसको छिनोफानो नभएसम्म काँग्रेसले सत्ता निर्माण प्रक्रियामा कुनै कदम नचाल्ने उनले बताए। अहिलेको अवस्थामा सरकारको नेतृत्व वा मिलेर जाने भन्ने प्रस्तावको कुनै अर्थ नरहेको महतको भनाई थियो। सरकारको प्रस्तावको कुनै अर्थ छैन। कुरा आए पनि त्यो गम्भीर रुपमा लिनुपर्ने अवस्था छैन, महतले भने, यसको पक्षमा लाग्ने उसको पक्षमा लाग्ने भन्ने आफ्नो वा अरुको भन्ने कुरा त्यो अपरिपक्वा हुन्छ। काँग्रेस त्यसको पछि दौडेर हिँड्दैन।





प्रतिक्रिया