देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई वर्षदेखि भूमिगत विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै

देशान्तर

 दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार सार्वजनिक हुँदैछन् । सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि चन्द काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्झौता समारोहमा सहभागी हुन लागेका हुन् ।

कार्यक्रममा आफ्नै जनसेनाको सुरक्षा घेरामा विप्लव सहभागी हुने बताइएको छ । समारोहमा सरकारसँग भएको सम्झौतामा हस्ताक्षर गर्नुका साथै विप्लवले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । सरकार र चन्द नेकपाबीच भएको विस्तृत राजनीतिक सहमति पनि सोही कार्यक्रममा सार्वजनिक हुँदैछ ।

सरकारसँगको सहमतिसँगै भुमिगत राजनीति गरिरहेको नेकपा चन्द समूह खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ ।

सरकारले २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

सहमतिसँगै बिहीबार नै सरकारले प्रतिबन्ध फुकुवा गर्नुका साथै पक्राउ परेका सबैलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने निर्णय गरिसकेको छ ।