देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्चद्वारा आयोगको निर्णय बदर , नेकपा को नाम परिवर्तन गर्नुपर्ने

देशान्तर

काठमाडौँ — सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।
सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।

सर्वोच्च अदालतको यो फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ ।

प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको हो भनी सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।