देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा र सरकारबीच आज निर्णायक वार्ता

देशान्तर

 सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उनको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।

सरकारी पक्षको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तामा जसपाकातर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए । सरकार पक्षबाट हिजोको छलफलमा नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी भएका थिए । 

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायत नेता-कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको छ ।

तर, जसपाले अहिले नै सत्ता समीकरणबारे निर्णय गरिसकेको छैन । पहिले आफूहरुले पहिलेदेखि नै राख्दै आएको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै आफूहरुले सत्ता समीकरणबारे निर्णय गर्ने जसपाका नेता एवं सरकारसँग वार्ता गर्न बनेको कार्यदल सदस्य कर्णले बताए । 

जसपामा निलम्बनमा परेकाबाहेक अहिले ३२ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइराख्न एमालेबाहेक १८ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओली सकेसम्म जसपाको सिङ्गो सहयोग लिने र नसके फुटाएर भए पनि पूर्वराजपा धारलाई आफूतिर तान्ने रणनीतिमा छन् । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । माओवादी केन्द्रले ओली नेतृत्वको विकल्पमा तीन दलको गठबन्धन बनाउने प्रयास गरिरहेको भए पनि सकिरहेको छैन ।

तीन दलको गठबन्धन सुनिश्चित भएपछि समर्थन फिर्ताको घोषणा गर्ने र सँगै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्रको रहेको छ । त्यही रणनीतिलाई असफल बनाउन प्रधानमन्त्री ओली पनि सक्रिय छन् । 

माओवादी केन्द्रले जसपा र नेपाली कांग्रेसको साथमा सरकार बनाउने प्रयास गरे पनि त्यो सफल हुन भने सकिरहेको छैन । नयाँ सत्ता समीकरणबारे सबै राजनीतिक दलहरु विभिन्न चरणमा छलफलमा रहेका छन् ।