पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोस्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्दै नेता थापाले जनता समाजवादी पार्टीलाई सरकार निर्माणका सवालमा छिटो निर्णय गर्न आग्रह गरे । ‘कसलाई समर्थन गर्ने हो वा आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुहोस् ।’
नेता थापाले ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताएका छन् । उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टी नै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।
उनले काँग्रेसले सरकारको नेतृत्व गरेर जनतालाई सुशासन दिन र संविधानलाई लिकमा ल्याएर चुनावमा जानुपर्ने बताए । उनले कांग्रेसका लागि एउटा महान अवसर आएको बताउँदै यो अवसरलाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘यस्तो अवस्था निम्त्याउँदा पनि दलहरुले प्रधानमन्त्रीमा केपी ओलीलाई सत्तामा बस्न दिनु भनेको देश र जनता प्रति धोका दिनु हो’ उनले भने । ‘ओलीले स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव गराउने कुरामा कुनै विश्वास नभएकाले तुरुन्त उनलाई हटाउनुको विकल्प छैन ।’
उनले अदालतले नेकपा पार्टीनै अरुको भएको फैसला गरेपछि कास्की–२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विद्या भट्टराईको सांसद पद स्वतः रद्ध भएको जिकिर गरे । विद्या भट्टराई नेकपाबाट निर्वाचित भएकाले नेकपा विघटन भएसँगै उनको सांसद पद पनि गुमेको उनको भनाई थियो ।





प्रतिक्रिया