देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलनकारी शक्ति मिल्नु आवश्यक छ : कमल थापा

देशान्तर

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र बाह्य शक्तिको चलखेललाई निस्तेज पार्न आन्दोलनकारी शक्ति तथा परम्परागत शक्तिबीच अहिले मिलन बिन्दुको आवश्यकता खड्किएको बताएका छन् ।

राप्रपा मकवानपुरको ३१औं जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रममा उनले राप्रपा मन, बचन र कर्मले मौजुदा संविधान, जनता र संसदीय प्रजातन्त्रप्रति अटल आस्था रहेको उल्लेख गरे । उनले अहिले देशमा राजनैतिक अस्थिरता बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

उनले मुलुकलाई हिंसात्मक दंगा, तोडफोड र वैचारिक द्वन्द्वबाट पृथक राख्न मौजुदा सरकारले भविष्यमा जनतामा जाने निर्वाचनको मार्ग रोज्नुको विकल्प नभएको उल्लेख गर्दै संसद्मा रहेका दलका तर्फबाट बन्ने वैकल्पिक सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने बताए ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्रको सार्वभौम, प्रेस स्वतन्त्रताका साथै प्रजातन्त्रलाई कमजोर तुल्याउने भूमिकामा बाह्य शक्तिले दललाई उपयोग गरेकामा चिन्ता व्यक्त गरे । अर्का नेता विक्रम पाण्डेले राप्रपाले सबै दलसँग सहकार्य गरेर देशमा प्रजातान्त्रिक संस्कारको प्रवद्र्धन र दिगो शान्तिका लागि अगुवाई गर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गणेश थापा, मधु अधिकारी, दिपक सिंह, राजाराम बर्तौला तथा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापा लगायतले जनताबीचमा विश्वास दिलाउने कार्यमा सधै अग्रसर रहनुपर्नेमा जोड दिए ।