काठमाडौं । एमाले नेता घनश्याम भुसालले ‘टेम्पो हाँक्ने मान्छे’ मात्र भएकाले पार्टीमा समस्या आएको बताएका छन् । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै उनी ‘टेम्पो हाँक्ने मान्छे’ मात्र भएकाले पार्टीमा ट्रक हाँक्न सक्ने नेता चाहिएको बताए ।
‘कोही व्यक्ति, सांसद् वा प्रतिनिधि कारबाहीमा पर्नु ठूलो होइन । ठूलो कुरा पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु हो,’ शनिबार खनाल–नेपाल पक्षीय नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु) को तेस्रो महाधिवेशन उद्घाटन गर्दै भुसालले भने, ‘नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरे पनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो । अघि एक जना साथीले यहाँ भने जस्तै चलाउनु पर्ने ट्रक थियो, टेम्पो हाँक्नेले जित्यो ।’
उनले ओली पार्टी विभाजनका लागि उद्धत रहेको पनि बताए । ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको उनले बताए ।
राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए । ‘उहाँको भनाइ नयाँ केही चाहिँदैन चुनाव जित्ने हो भन्ने थियो । तर, नवौं महाधिवेशनले समाजवाद ल्याउने हाम्रो नीति पारित गर्यो,तर नेतृत्वमा उहाँलाई नै छान्यो । समस्या यहीबाट शुरु भयो ।’
पैसा हुनेले मात्रै टिकट पाउने स्थिति बनेको भन्दै वर्तमान समय किसान र श्रमजीवी वर्ग पार्टीमा किनाराकृत भएको टिप्पणी उनले गरे । ‘म भन्ने गर्छु, जुन वर्गका लागि कम्युनिष्ट पार्टी बनायौं, आज त्यो वर्ग कहाँ छ ?’ उनले भने ।





प्रतिक्रिया