काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली बालुवाटारको सानो गुटलाई एमाले भनिरहेको बताएका छन् । नेता खनालले ओलीको गुटबन्दीले नै पार्टी ध्वस्त भएको, दक्षिणपन्थी भासमा गएको र क्रान्तिकारी भावनामा कमी आएको पनि बताएका छन् ।
नेपाल-खनाल समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले ओलीमा सत्तामा जसरी पनि टाँसिरहने प्रवृति रहेको बताए । नेता खनालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको बताएका छन् ।
खनालले भने, ‘यो सबै ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो । दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार-विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ । अहिले भएको यही हो ।’
नेता खनालले ओलीले योग्यता नै नपुगेका पुँजीपतिलाई पार्टीमा भित्राएको पनि आरोप लगाए । ‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए । अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन् । के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन् ?’, खनालले प्रश्न उठाउँदै भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन् ।’





प्रतिक्रिया