देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबारे प्रधानमन्त्रीको अपव्याख्याले धेरै नेपालीको ज्यान गयो : कांग्रेस

देशान्तर

काठमाडौं । कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अपव्याख्याका कारण कयौँ नेपालीले ज्यान गुमाउनुपरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले यस्तो ठहर गरेको हो ।

‘नेपालीको इम्युनिटी पावर बलियो छ । त्यसले नेपालीलाई जोगाउने काम गर्छ भने प्रधानमन्त्रीले व्याख्या गर्नुभयो’, कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बैठकपछि भने, ‘प्रधानमन्त्रीको गलत धारणा र विचारले नेपालीले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । प्रधानमन्त्रीको यो भनाइ आपत्तिजनक छ ।’

कांग्रेसले जनताको जिउ धन रक्षा गर्ने जिम्मा सरकारको भए पनि प्रधानमन्त्री र मन्त्रीहरु जिम्मेवार नभएको आरोप पनि लगाएको छ । ‘जनताको जीवन रक्षा गर्नु संघीय सरकार र प्रदेश सरकारसहित सबै तहको पहिलो दायित्व हो’, खाँणले भने, ‘तर यस मामिलामा प्रधानमन्त्री र मन्त्रीहरु गम्भीर देखिएनन् । कोभिड-१९ को उपचारका लागि आवश्यक सामग्री र भ्याक्सिन किन्दा भ्रष्टचार भएको छ । यसमा संलग्नलाई कारबाही हुनुपर्छ।’

हरेक नागरिकलाई खोप दिनू
नेपाली कांग्रेस कोभिड संक्रमण रोक्न सरकार गम्भीर बन्न जरुरी रहेको जनाएको छ । साथै उसले हरेक नेपाली नागरिकलाई खोप दिन पनि भनेको छ । ‘हरेक नेपाली नागरिकलाई तत्कालै भ्याक्सिन दिइओस्’, उनले भने, ‘मन्त्रीहरु आफैँ कमिसनका कारण ल्याउन दिएनन् भनिरहेका छन् । भ्याक्सिन विदेशबाट ल्याउन आग्रह गरियोस् । कूटनीतिक पहलबाट भए पनि ल्याइयोस् ।’

कांग्रेसले कोरोना नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । ‘सरकारले विशेष प्याकेज कार्यक्रम ल्याओस् । महामारी नियन्त्रणका क्रममा लकडाउन गर्दा श्रमिक मजदुर र किसानहरू पर्यटन व्यवसायीहरु मारमा परेका छन्’, कांग्रेसले भनेको छ, ‘उनीहरुलाई राहत दिन सरकार संवेदनशील र गम्भीर होस् ।’

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन माग
बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको हो ।

बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख खाँणले बताए । कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने देश, अन्तरराष्ट्रिय संघसंस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ ।