काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्तावमा हस्ताक्षर गर्ने ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय लिएको हो ।
स्पष्टीकरण सोधिएका ११ सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र निरा जैरू रहेका छन् । एमालेले नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टसहितलाई भने स्पष्टीकरण सोधेको छैन ।
उनीहरुसहित सात सांसदले हिजो नै प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई अघि सार्ने माधव नेपालको प्रस्तावमा असहमति जनाएका थिए । नेपाल पक्षले देउवाको पक्षमा २७ जना सांसदले हस्ताक्षर गरेको जनाएको थियो । जसमा सातजनाले हिजै आफूहरुको साथ देउवालाई नहुने भन्दै आपत्ति जनाएका थिए ।
नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा, गणेश पहाडी र जयकुमार राईले हिजै आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री बनाउने कुरामा आफ्नो साथ नहुने भन्दै नेता योगेश भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।





प्रतिक्रिया