देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी र पूर्व माओवादीका नेताहरु निर्वाचन आयोगमा

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी छोडेर एमाले बनेका नेताहरु शुक्रबार पालैपालो निर्वाचन आयोग पुगेका छन्।

माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन्।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेको बुझिएको छ।

माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर पदाधिकारीसँग छलफल गरेका हुन्। उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि निर्वाचन आयोग पुगेर छलफल गरेका छन्।

स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारबाही गरेको पत्र आयोगमा बुझाउदा पनि आयोगले दल त्याग गरेको सुचना प्रकाशित नगरेपछि आफूहरु आयोग पुगेको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

आयोगले सुचना जारी नगरेसम्म पद खाली हुदैन। यस्तै शुक्रबार नै जसपाको उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि आधिकारिकता दाबी पेस गर्न निर्वाचन आयोगमा पुगेका थियो।