देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हस्ताक्षर फिर्ता लिन ओलीले दिएको तीनदिने अल्टिमेटम अर्थहीन : झाँक्री

देशान्तर

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने बताएकी छन्।

शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर मुद्दामा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। उनले यस्ता अल्टिमेटम धेरै आएको बताइन्।

‘ओली कमरेड रहेको त्यो कमिटीलाई सर्वोच्च अदालतले अवैध भनिसकेको छ। अवैध कमिटीले दिएको अल्टिमेटम मान्न बाध्य छैनौं। तीनदिने अल्टिमेटको कुनै अर्थ छैन,’ नेपाल लाइभसँग कुरा गर्दै झाँक्रीले भनिन्, ‘अस्ति बसेर आयोजक कमिटीको नाम फेरेर केन्द्रीय कमिटी नाम दिनुभएको छ। त्यो अवैध कमिटीले दिएको निर्देशन मान्न बाध्य हुँदैनौ। हामीसहित कमिटी नै एमालेको कमिटी हो।’

माधवकुमार नेपालसहित बसेर गरेको केन्द्रीय कमिटीको निर्णय सहमति– असहमति जे भए पनि मान्न भने बाध्य हुने झाँक्रीले बताइन्। ‘हामीसमेत बसेर निर्णय गरे पो मान्न बाध्य हुने थियौं। बैठकमा असहमति राख्न सकिन्छ, निर्णय भएपछि मान्न बाध्य हुने थियौं,’ झाँक्रीले भनिन्।