
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहने भएको छ ।
जवाफी बहसको लागि भने अब २ घण्टाको मात्रै समय बाँकी छ ।
आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् ।
त्यसपछि अदालतका सहयोगी अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । एमिकस क्युरीका लागि २ घण्टाको समय दिइएको छ ।
आइतबार जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएका थिए ।
श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गरेका थिए ।
जवाफी बहस सुरु गर्नु अघि इजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ ।
न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराएका थिए ।





प्रतिक्रिया