देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘कार्यदल’का नेताहरु फेरि सक्रिय, १० बुँदे कार्यान्वयनमा जोड

देशान्तर

काठमाडौं –पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।

शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।

शुक्रबार अध्यक्ष ओलीले राखेको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।

शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए ।