देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोस्रो पटक पुनर्स्थापित संसद बैठक आज

देशान्तर

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार (आज) शुरु हुँदै छ ।

करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो ।

आदेशपछि करिब दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा सत्तासिन हुन पुगेका छन् । चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । तर प्रधानमन्त्री देउवाले कहिले विश्वासको मत लिने त्यो भने तय भएको छैन ।

बैठक सञ्चालनका सम्बन्धमा बिहीबार सभामुख अग्निप्रसाद सापकोटा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र संसद् सचिवालयका अधिकारीहरूबीच सिंहदरबारमा छलफल भएको थियो ।
गत वैशाख २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएकी थिइन् । उक्त बैठक सोही दिन अन्त्य गरिएको थियो ।

ओली नेतृत्वको सरकारले १५ वटा अध्यादेश संसद् सचिवालयमा दर्ता गरेको छ । यसअघि प्रतिनिधिसभा पुनः स्थापनापछि गत फागुन २३ गतेको पहिलो बैठकमा उक्त अध्यादेश पेस नभएपछि पुनः जारी गरिएको थियो । दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि फेरि अध्यादेश जारी गरिएको थियो ।

ती अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्नुपर्छ । संवैधानिक परिषद्लगायत केही अध्यादेशका प्रावधानमा कांग्रेस, माओवादी केन्द्रलगायतको असहमति रहँदै आएको छ ।

प्रतिनिधिसभाको बैठक बसेको ६० दिनमा पारित नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।