काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री कोइरालालाई सम्झिएका हुन् ।
कोइरालाले प्रजातन्त्रका लागि एउटै पुस्ताले ३ पटक लडेको र अब लड्न नपर्ने भनेको तर अहिलेको अवस्थामा फेरि लड्न पर्ने अवस्था आएको भन्दै प्रदीपकुमार ज्ञवालीले बताएका छन् । उनले अब आफूहरु राम्रो प्रतिपक्ष भएर अगाडि बढ्ने पनि बताएका छन् । उनले विरोध गर्नु पर्ने ठाउँमा मात्र आफूहरुले सरकारको विरोध गर्ने पनि बताएका छन् ।
साथै उनले २०५९ साललाई सम्झिदै देउवाले बारम्बार संसदमा विश्वासको मत मागेको प्रसंग उप्काए । ‘संसदमा दलीय विभाजनले गर्दा जुन समस्या हिजो भोगिएको थियो, त्यो अहिले पनि कायम छ,’ प्रदीपकुमार ज्ञवालीले भने, ‘आज एमाले प्रतिपक्षमा बस्न परेको भएर मैले यो भनेको होइन । हामी ३६ वर्ष प्रतिबन्धित थियौँ, भूमिगत थियौँ । २००६ सालमा जन्मिएको पार्टीलाई नेपाली कांग्रेसको सरकारले समेत प्रतिबन्ध लगाएको थियो । विपक्षमा रहनु हाम्रा लागि सामान्य विषय हो ।’
उनले आफ्नो पार्टी लामो समय प्रतिपक्षमा रहेको पनि स्मरण गरेका छन् । उनले भने, ‘को सत्तामा गयो कि गएन भन्ने होइन, खेल फेयर भयो कि भएन भन्ने हो ।’ उनले मनमोहन अधिकारीले ९ महिनामात्र प्रधानमन्त्री भए पनि अहिले पनि मनमनमा रहेको स्मरण गरेका छन् । उनले नेकपा एमाले फेरि कमब्याक गर्ने पनि संसदमा बताएका छन् ।





प्रतिक्रिया