ठेक्का भएको पाँच वर्षमा १३ हजार ४ सय ४३ सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गरिएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार यो अवधिभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो ।
बगंलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ज्वाइन्ट भेन्चरमा यसको ठेक्का लिएको हो । असारमा यसको ठेक्का सम्झौता सकिएको छ । म्याद थपको प्रक्रिया भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार ठेक्का रकम ४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार ५ सय (४ करोड ३७ लाख ८७ हजार अमेरिकी ५ सय डलर) रुपैयाँ छ । त्यसमध्ये ३ करोड ६२ लाख ५६ हजार ४ सय ४१ रुपैयाँ भुक्तानी भइसकेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले अदालती प्रक्रिया र कोभिडका कारण समयमै जडानको काम सक्न समस्या भएको बताए । २०७४ फागुनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट वितरण रोक लगाउन र देवनागरी लिपिमा नम्बर प्लेट लेखिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले २०७६ मंसिरमा रिट खारेज गरिदिएको थियो । विभागका निर्देशक रामचन्द्र पौडेलका अनुसार फैसलाको पूर्णपाठ २०७७ असारमा मात्र आयो । ‘२०७७ साउन १ मा नम्बर प्लेट जडानको काम पुनः सुरु गरिएको थियो,’ उनले भने, ‘कोभिड महामारीका कारण सिर्जित विषम परिस्थितिले अपेक्षित प्रगति हासिल गर्न सकिएन ।’
नम्बर प्लेट अंग्रेजी लिपिमा बन्ने विभागको भनाइ छ । ‘अंग्रेजीमै नम्बर प्लेट लेख्न पाउने गरी अदालतबाट पनि निर्णय भयो,’ महानिर्देशक घिमिरेले भने, ‘अब बिस्तारै सबै सवारीमा इम्बोस्ड नम्बर राखिनेछ ।’ पाँच वर्षअघिको सवारी संख्यालाई आधार मानी इम्बोस्ड नम्बर जडान गर्ने गरी ठेक्का गरिएको थियो तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७७ फागुनसम्म सबै किसिमका सवारीको संख्या ३९ लाख ८७ हजार २ सय ६७ पुगिसकेको छ । कान्तिपुरमा खबर छ ।





प्रतिक्रिया