काठमाडौँँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आतंकको राज रोक्नका लागि युथ फोर्स जन्मिएको बताए । युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पोखरेलले युथ फोर्सको सुरुवात सम्झेका हुन् ।
आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो ।
अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता देखिएको महासचिव पोखरेलले बताए । उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए ।
अब युथ फोर्सले आतंकविरुद्ध लड्दै देश र जनताको पक्षमा काम गर्नुपर्ने पोखरेलले बताए । उनले जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि युथ फोर्सले काम गर्नुपर्ने बताए ।





प्रतिक्रिया