काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनः स्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनः स्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुशी ब्यक्त गरेका छन् ।
उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनस् स्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानु पर्नेछ ।’
नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नु पर्नेमा जोड दिए । सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए । उनले यसबारे सम्बन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए ।





प्रतिक्रिया