देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश प्रमुख फेर्ने सरकारको तयारी

देशान्तर

काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको हो । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबीच प्रदेश प्रमुख फेर्ने विषयमा सहमति भइसकेको बुझिएको छ ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गरेर यस विषयमा छलफल गरेका छन् ।गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्षले २-२ प्रदेशमा प्रदेश प्रमुखको भागबण्डा भएको बताइएको छ । त्यस्तै जसपाले एक प्रदेशको प्रदेश प्रमुख पाएको बुझिएको छ ।

स्रोतका अनुसार मंगलबार लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रदेश प्रमुख फेरिने बताइएको छ । हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा ‘अहिराज’, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्रदेशको सत्ता समीकरणमा प्रदेश प्रमुखको भूमिका देखिएकाले सरकारले प्रदेश प्रमुख अप्रिवार्त्न गर्न लागेको बताइएको छ । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।