देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने

देशान्तर

काठमाडौं – मन्त्रिमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी माधवकुमार नेपाल पक्षका एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने जानकारी गराएका छन् । पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट बैठकमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला पौडेलले आफूहरू सरकारमा सहभागी नहुने जानकारी गराएका हुन् । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए । दाहालले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएका थिए । त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको हो ।

बैठकमा सरकार विस्तारबारे सामान्य कुराकानी भएको र आफूले सरकारमा सहभागी नहुने कुरा स्पष्ट रुपमा भनेको बताए । ‘संविधान जोगाउन हामीले प्रधानमन्त्रीलाई साथ दिएका हौं’, बैठकपछि नेता पौडेलले भने, ‘तर पार्टीमा एकताको छलफल चलिरहेका बेला हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रिमण्डल छिटो विस्तार गर्नुस् भनें ।’ पौडेलले आफूले आफ्नो समूहको तर्फबाट गठबन्धन बैठकमा उक्त धारणा राखेको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ । एमालेको माधव नेपाल पक्ष समेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन समेत दिएको छ ।